जनकपुरधाम | दाइजोको कारण धनुषामा एकजनाको हत्या भएको छ । दाइजो दिएको मोटरसाइकल नामसारी नगरेको भन्दै धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ मिथिलेश्वरमा एक युवकले श्रीमतीको हत्या गरेको घटना बाहिर आएको छ ।
उनीहरुको डेढ वर्षअघि विवाह भएको थियो । प्रकाश मण्डलले २२ वर्षीया श्रीमती कुसुम मण्डललाई मोटरसाइकलको नामसारी नगरेको भन्दै हत्या गरेका हुन् ।हत्यापछि कुसुमको शवलाई जनकपुरधाममा रहको प्रादेशिक अस्पताल पुर्याएर ससुरा रामचन्द्र मण्डल फरार भएका थिए ।मृतक कुसुमका बुवा जीवन मण्डलले दाइजोको कारण आफ्नो छोरीको हत्या भएको आरोप लगाएका छन् ।
दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका कराण गर्न नसकेकोले त्यसको निहुँमा छोरीको हत्या गरेको उनले आरोप लगाएका छन् ।ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएपनि आर्थिक अभावका कारण नामसारी गर्न नसकेकोले त्यसैको रिसमा छोरीको हत्या गरेको उनले बताए ।
विवाह हुँदा दुई लाख नगद, अपाची मोटरसाइकल, सुन र १५ तोला चाँदी समेत दाइजो दिएको माइती पक्षले जनाएका छन् ।घटना शंकास्पद देखिएकोले प्रहरीले मृतक कुसुमका श्रीमान् प्रकाशलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।