वीरगंज । पूर्वमन्त्री प्रभु साहले एमाले पार्टीमा विद्रोह गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न क्षेत्रमा आफूसहित स्वतन्त्र उम्मेदवार खडा गरेका छन् । साहले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले उनलाई कारबाही गरिसकेको छ । उनले उठाएका अधिकांश उम्मेदवार जसपा–एमाले गठबन्धनविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । जसपा र एमालेका उम्मेदवार भएको ठाउँमा प्रभु साहले आफ्नो उम्मेदवार उठाएका छन् । प्रभु साहले रौतहट–३ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले उनलाई समर्थन गरेपछि लगभग उनको जित निश्चित छ । सो क्षेत्रमा प्रभु साहको प्रतिस्पर्धी नै नरहेको भन्दा पनि हुन्छ । त्यहाँ न कांग्रेसको उम्मेदवार छ, न एमालेको नै । सो क्षेत्रमा सिकिन्द्र राय यादव राप्रपाबाट, रफिक दर्जी मजदुर किसान पार्टीबाट, रामेश्वर प्रसाद यादव जनमत पार्टीबाट, नागेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीबाट, शेख असरद नेपाल सद्भावना पार्टीबाट, नविन प्रसाद चौरसिया राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सो क्षेत्रमा प्रभु साहसहित १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रभु साह निकटका सीवी साहले भने, ‘रौतहट–३ मा प्रभु साहको कोही प्रतिस्पर्धी छैनन्, उहाँ अत्यधिक मतले जित्दै हुनुहुन्छ ।’ त्यस्तै, प्रभु साहको ‘स्वतन्त्र जिताऊ अभियान’अन्तर्गत किरण साहले रौतहट–२ बाट उम्मेदवारी दिएका छन् । उनी पनि सो क्षेत्रका प्रतिस्पर्धी उम्मेदवार हुन् । उनी जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धा कांग्रेसका अफताव आलमका छोरा मोहम्मद फिरहोद आलमसँग रहेको छ । फिरहोद कांग्रेसबाट उम्मेदवार छन् । अघिल्लो संसदीय चुनावमा किरण साह तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट अफताव आलमसँग प्रतिस्पर्धा गरेका थिए । किरणको ठाउँमा शैलेन्द्र साहले जसपाबाट टिकट पाएपछि किरणले स्वतन्त्र उम्मेदवारी दिएका हुन्् । उनी भन्छन्, ‘सुरुदेखि मैले पार्टीमा काम गरेँ, पहिला पनि चुनाव लडेको हुँ तर अन्तिममा आएर जसपाले शैलेन्द्र साहलाई दिएपछि म स्वतन्त्र उम्मेदवार बनेको हुँ ।
’आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै उनले प्रभु साहको स्वतन्त्र जिताऊ अभियानअन्तर्गत अधिकांश उम्मेदवारले जित्ने बताए । रौतहट–२ मा दिनेशप्रसाद साह तेलीले नेपाल मजदूर किसान पार्टीबाट, रामयस झाले जनमत पार्टीबाट महिन्द्र साह तेलीले, राप्रपा नेपालबाट, नन्दकिशोर यादवले गान्धीवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् । अन्य सातजना स्वतन्त्र उम्मेदवार छन् । रौतहट–४ बाट प्रदीप साहले पनि स्वतन्त्र जिताऊ अभियानअन्तर्गत उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेका उम्मेदवार उद्धवप्रसाद रेग्मी छन् । यहाँ प्रदिप साह र रेग्मीको बीचमा प्रतिस्पर्धा रहेको छ ।