राैतहट । राैतहटकाे क्षेत्र नम्बर- ३ मा दुईजना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूबीच झडप भएको छ। कटहरिया नगरपालिकाको वडा ५ कटहरिया बजारस्थित शान्ति पेट्रोल पम्प अगाडि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच झडप भएकाे हाे।
सुरुमा वादविवाद भइ पछि झडप भएकाे प्रहरीले जनाएकाे छ। घटना बुधबार राति करिब साढे ९ बजेको समयमा भएकाे हाे। झडप भएपछि प्रहरीले प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिड नियन्त्रणमा लिएको थियाे। दुवै उम्मेदवारका समर्थकहरू रक्सी खाएर एकले अर्काेलाई गाली गर्न थालेपछि विवाद सुरु भएकाे प्रहरीले जनाएकाे छ।
सुरुमा सम्झाइबुझाइ गर्दासमेत दुवै पक्षका समर्थक आक्राेशित हुँदै ढुंगा र सिसा प्रहार गर्न थालेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गरिएकाे इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। प्रहरीका अनुसार दुवै पक्षले एकले अर्काेलाई पैसा र रक्सी बाँडेकाे आराेप लगाएका थिए। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे छ। झडपमा परी तीन जना प्रहरी सामान्य घाइते भएका छन्।