वीरगंज । शोधनान्तर स्थिति १४ महिनापछि बचतमा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको आर्थिक स्थितिको तथ्यांक अनुसार देशबाट बाहिरिनेभन्दा भित्रने रकम बढी भएपछि शोधनान्तर १२ अर्ब ४३ करोडले बचतमा गएको हो । शोधनान्तर बचतमा गएमा त्यसको प्रभाव तरलतामा पर्छ । बैंकहरुसँग कर्जा दिने क्षमता शोधनान्तर बचतमा गएपछि आउनेछ ।
सरकारले विदेशी मुद्राको सञ्चितिको लागि आयात प्रतिबन्ध लगाउने निर्णय तथा औपचारिक माध्यमबाट रेमिट्यान्स आएको हुँदा शोधनान्तर बचतमा गएको हो । तीन महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भएर दुई खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भएर एक लाख ४७ हजार ९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । शोधनान्तर बचतमा गए पनि चालु खाता रु. ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।