वीरगंज । विश्व मधुमेह दिवस सोमबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ । विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य सङ्गठनको घोषणाअनुरुप सन् १९९१ देखि दिवस मनाउन थालिएको हो । वीरगंज महानगरपालिका स्वास्थ्य शाखाले मधुमेह हेरचाहमा पहुँच भन्ने नाराका साथ दिवस मनाएको हो । महानगरको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन महानगर प्रमुख राजेशमान सिंहले आफ्नो रगत परिक्षण गराएर गरेका थिए ।
कार्यक्रम उद्घाटन पछि बोल्दै प्रमुख सिंहले तालिका बनाइ महानगरका सम्पूर्ण कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाइ सुझाव दिएका छन् । कार्यक्रममा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरुको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताए ।
मधुमेह उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसर पारेर हरेक वर्ष नोभेम्बेर १४ लाई विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि यो रोग उल्लेखनीय रुपमा बढिरहेको तथ्याङ्क छ । छिटो–छिटो पिसाब लाग्ने, मुख सुक्ने, बढी भोक लाग्ने, तौल घट्ने जस्ता मधुमेह रोगका लक्षणहरू हुन् । यसबाट जोगिन खानपिन र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने मेयर सिंहले सुझाव दिएका थिए ।