वीरगंज । बाराको सिमरामा करोडौंको लगानीमा ‘माइल्स २९ क्याफे एण्ड पब’ संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय युवा प्रफुल्लजंग राणाको एकल लगानीमा पब संचालनमा आएको हो ।
सिमराका युवा व्यवसायी शम्भु खड्गीले हालै संचालनमा ल्याएको होटल श्रेष्ठ रेसिडेन्सी अगाडी यो पब खुलेको छ । ब्रिटिस थिममा सजावट गरिएको पबमा राणाले हालसम्म ८० लाख लगानी गरिसकेका छन् । पबमा एक करोड २० लाखसम्म खर्च गर्ने राणाको योजना छ । ग्राहकलाई आकर्षित गर्ने गरी उनले सजावटमा रकम खर्चिएका छन् ।
बैदेशिक रोजगारीका क्रममा लामो समय दुबईमा बसेर आएका राणाले सिमरालाई केन्द्रीत गरेर ठुलो रकम लगानी गरेका हुन् । पबले सिमरालाई व्यवस्थित र सुविधासम्पन्न शहरको रुपमा चिनाउन मद्त पुग्ने उनको विश्वास छ । ठुलो लगानीसहित पब संचालनमा ल्याएका राणाले एक दर्जनभन्दा बढी युवालाई रोजगारी दिएका छन् । औद्योगिक करिडोरको रुपमा रहेको बाराको सिमरामा दिनप्रतिदिन लगानी बढीरहेको छ । शहरको रुपमा विकसित हुँदै गर्दा सिमरालाई केन्द्रीत गरेर पछिल्लो समय विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी बढ्न थालेको हो ।