वीरगंज । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट दुई ग्राम खैरो हेरोइनसहित जोशीपुर गाउँपालिका–२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही महानगरपालिका–३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगर छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो ।
बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडा घर भएका ५४ वर्षीया जगु गिरीलाई ४६० ग्राम चरेससहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट ३१२ ग्राम ब्राउन सुगरसहित सुन्दरहरैचा नगरपालिका–१० बस्ने २४ वर्षीय सौगात राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र नुर्फिन ६० एम्पुलसहित व्यास नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिससहित ललितपुर महानगरपालिका–१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।