यद्यपि, भौतिकशास्त्रीहरूले भने चन्द्रग्रहण हेर्न नहुने धार्मिक मान्यता भए पनि यसको कुनै वैज्ञानिक आधार नभएको बताएका छन्।
प्रकृतिको हरेक स्रोत हरेक प्राणीको निम्ति बराबर हुने भएकाले ग्रहण कसैको निम्ति लाभदायी र कसैको निम्ति हानिकारक नहुने उनको तर्क छ।
सामान्यतया ग्रहण दुई किसिमका हुन्छन्- सूर्यग्रहण र चन्द्रग्रहण।
पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्था नै चन्द्र ग्रहण हो।
तर, ग्रहण लाग्दा सूर्य वा चन्द्रमाको कति भागमा छाया पर्छ भन्ने आधारमा पनि यसको प्रकार छुट्टाइएको भौतिकशास्त्री डा. शर्मा बताउँछन् ।
चन्द्रग्रहण खग्रास र खण्डग्रासगरी दुई किसिमका हुन्छन्। शर्माका अनुसार चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्नेगरी छाया पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ। त्यस्तो अवस्थामा “चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ।” त्यस्तो देखिने चन्द्रमालाई रक्तिम वा ब्लड मून भनिन्छ।
नासाका अनुसार खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा र सूर्य पृथ्वीको ठिक विपरीत स्थानमा हुन्छन्।
त्यस्तै चन्द्रमाको केही खण्डमा मात्र पृथ्वीको छाया पर्दा खण्डग्रास चन्द्रग्रहण लाग्छ। यस किसिमको ग्रहण लाग्दा छायाको आकारका आधारमा ग्रहण परेको ठाउँमा चन्द्रमाको सतह गाढा रातो, खियाको जस्तो वा खरानी रङ्गको देखिन्छ।
ज्योतिषी रिजालका अनुसार कार्तिक २२ गते पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्न लागेको हो।
नासाका अनुसार खण्डग्रास चन्द्रग्रहण वर्षमा दुई चोटि देखिन्छ भने खग्रास चन्द्रग्रहण दुर्लभ हुन्छ।
नेपालको सबै भागबाट यो खग्रास चन्द्रग्रहण देख्न सकिने वी.पी. कोइराला मेमोरियल प्लानेटेरियमले जनाएको छ।
नेपाली समय अनुसार दिउँसो १:४७ बजेदेखि नै पृथ्वीको छाया चन्द्रमामा पर्न थाल्ने जानकारहरू बताउँछन्। यद्यपि, नेपालमा साँझ ५:११ मा चन्द्रोदय हुन्छ। “त्यस समयमा चन्द्रमा नेपालको क्षितिजभन्दा पर हुन्छ। घटना घटिरहेको हुने भए पनि हाम्रो दृष्टिमा नपर्ने मात्रै हो,” उनले जानकारी दिए।
नेपालमा ग्रहण ५:९ मा पूर्व उत्तरबाट प्रारम्भ भई ५:२६ मा मध्य हुने र ६:३४ बजे चन्द्रग्रहणको अन्त्य हुनेछ।
ग्रहण मध्य हुनुको अर्थ चन्द्रग्रहण दर्शनीय हुने डा. शर्माले बताए। उनले भने,”पूर्ण खग्रास चन्द्रग्रहणको अवधि करिब २० मिनेट हुनेछ। नेपालको पश्चिम भूभागमाभन्दा पूर्वमा ग्रहण अवधि १० मिनेट बढी हुनेछ।”
एशियाको अधिकांश स्थानसँगै अस्ट्रेलिया, उत्तर/पूर्व युरोप र उत्तर र दक्षिण अमेरिकाको केही भाग, प्रशान्त, एटलेन्टिक र इन्डियन महासागर, आर्कटिक क्षेत्र, एन्टार्कटिका महादेशबाट पनि सोही मात्रामा ग्रहण हेर्न सकिने प्लानेटेरियमले जारी गरेको विज्ञष्तीमा उल्लेख छ।
ज्योतिषशास्त्रमा ग्रहणको समयमा विभिन्न कार्य गर्न हुने या नहुने भनेर छुट्टाइएको हुन्छ।
ज्योतिषी रिजालका अनुसार खग्रास चन्द्रग्रहणको समयमा खाना खान नहुने मान्यता छ।
उनले भने,”वृद्ध वृद्धा, बालबालिका, बिरामी वा अशक्तहरूबाहेक अन्य व्यक्तिले ग्रहणको बेला भोजन गर्नु उचित मानिँदैन। यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बताइन्छ।”
त्यस्तै ग्रहण लाग्दा “देवताको पूजा गर्न नहुने” उनको कथन छ।
यद्यपि, ग्रहण अवधिमा दान, स्नान, मन्त्रहरूको उच्चारण र साधना गर्नुलाई शुभ मानिने उनी बताउँछन्।
ग्रहण लाग्दा मात्र नभइ ग्रहण लाग्नुभन्दा केही समय अगावैदेखि सुतक बार्ने धार्मिक मान्यता समेत रहेको छ।
ज्योषितशास्त्रले सुतककाललाई अशुभ समयको रूपमा व्याख्या गर्ने ज्योतिषीहरूको दाबी छ। यस्तो अवधिमा शुभ कार्यहरू गर्न नहुने उनीहरू बताउँछन्।
“ग्रहणको नराम्रो प्रभावबाट जोगिन सुतक बारिन्छ,” ज्योतिषी रिजालले भने।
उनका अनुसार सूर्यग्रहण हुनुभन्दा अघिको बाह्र घण्टा र चन्द्रग्रहण हुनुभन्दा अगाडिको ९ घण्टालाई सुतककाल मानिन्छ। सुतक अवधिमा पनि शास्त्रले भोजन निषेध गरेको उनको तर्क छ।
यद्यपि, वी.पी. कोइराला मेमोरियल प्लानेटेरियमका विज्ञहरूले विज्ञानले सुतक अवधिबारे कुनै आधार पुष्टि नगरेको बताए।
आजभोलि पर्यटकीय एवं अध्ययनको कोणबाट ग्रहण हेर्न चाहनेहरूको सङ्ख्या बढेको बताइन्छ।
आगामी ग्रहण कहिले?
नेपालमा आगामी चन्द्रग्रहण सन् २०२३ को “एप्रिल महिनामा हुने” आकलन गरिएको डा. सनत कुमार शर्माले बताए।
यद्यपि, भारतमा भने सोही वर्ष अक्टोबर महिनामा हुने भनिएको छ। यी दुबै चन्द्रग्रहण आंशिक अर्थात् खण्डग्रास हुनेछन्।
आगामी खग्रास चन्द्रग्रहण तीन वर्षपछि अर्थात् सन् २०२५ को मार्च महिनमा हुने जनाइएको छ।