काठमाडौं । नेपालका ३० प्रतिशत बालबालिका अझै जोखिमयुक्त श्रममा संलग्न छन् । पछिल्लो सर्वेक्षणअनुसार नेपालमा कुल एक लाख चार हजार ७१४ बालबालिका श्रममा संलग्न रहेको पाइएकोमा ३० प्रतिशत जोखिमयुक्त श्रममा रहेका छन् ।
दिगो विकास लक्ष्य (एसडीजी) ले सन् २०२५ सम्म बालश्रम निषेधित एवं निर्मूल गर्ने लक्ष्य लिए पनि यो तथ्याङ्कले लिएको लक्ष्यमा पुग्न सजिलो नभएको सङ्केत गरेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
एसडीजी प्राप्त गर्नका लागि नेपालमा लगातार पहल भइरहेको छ । श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले दोस्रो १० वर्षे बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७४–२०८३) कार्यान्वयनमा ल्याएको छ ।उक्त गुरुयोजनाको उद्देश्य नेपालबाट सबै प्रकारको बालश्रम पूर्ण रूपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने रहेको छ ।
गुरुयोजनाले लिएको लक्ष्यअनुसार वि.सं. २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त बालश्रम निवारण गर्ने, यसका लागि आवश्यक पर्ने नीति रणनीति तथा कानुन पहिचान, संशोधन वा सुधार गर्ने र यसका लागि सार्वजनिक तथा सामाजिक संयन्त्र एवं संरचनाको संस्थागत क्षमता विकास गर्ने रहेको छ तर त्यो लक्ष्य पूरा गर्न सजिलो भने नभएको बाल अधिकारकर्मी बताउँछन् ।