वीरगंज । बारा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालबन्दी गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले आईतबार निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका हुन् । जीतपुरका केही स्थानीयसहित उपमहानगरपालिका पुगेका गुप्ताले मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृत कार्यालयमै थुनिएका छन् ।
मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृतको कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारी कार्यालयभित्र थुनिएका छन् । यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा अध्यक्ष गुप्ताको अराजकता बढेको बताए । गुप्ताको अराजकताले नगरपालिकामा काम गर्ने वातावरण बिग्रिएको पौडेलको भनाइ छ । गुप्ताकै कारण नगरपालिका बदनाम भएको पनि उनले बताए ।
गुप्ताले यसअघि पनि उपमहानगरपालिकाको मुख्य गेटमा ताला लगाएका थिए । उनलाई कारवाहीको लागि नगर प्रमुख पौडेलले कानूनी प्रकृया पनि अघि बढाएका थिए । तर पछि आफ्नो गल्ती स्वीकार गरेपछि कारवाही रोकिएको थियो ।