वीरगंज । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाईमा निःशुल्क गरिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्णरुपमा निःशुल्क गर्ने जनाएको हाे ।
पालिकाले शैक्षिक गुणस्तर उकास्न केजी कक्षा सञ्चालन गरिरहेको र त्यसका लागि २१ जना बालविकास शिक्षक पालिकाकोतर्फबाट राखिएको छ । बाल कक्षादेखि कक्षा ५ सम्म ऐच्छिक विषय राखिएको गाउँपालिकाकाे शिक्षा शाखाले जनाएकाे छ । साेही पालिकाभित्रका ५ वटा विद्यालयमा कक्षा ६, ७ र ८ कक्षामा शून्य दरबन्दी भएका ५ वटा विद्यालय र कक्षा ९ र १० मा शून्य दरबन्दी भएको १ विद्यालयमा गाउँपालिकाले आफ्नो स्रोतबाट १३ जना शिक्षक राखेको छ ।
शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको साेही गाउँपालिकाकाे दावी छ । गाउँपालिकाले शिक्षाको लागि करिब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।