वीरगंज । बीरगन्जका होटलहरुले मेनु भन्दा बाहेक अतिरिक्त सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर जोडेर लिएको भन्दै उच्च अदालतमा रिट दायर गरेका छन् । मेनुमा राखिएको मुल्य भन्दा अतिरिक्त शुल्क लिनु कानुन विपरित रहेको भन्दै पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ निवासी कानुनका विद्यार्थी २१ वर्षीय अनिल कुमार साहले होटल तथा पर्यटन व्यवसायी संघ र अन्य ६ वटा होटलहरु विरुद्ध बुधबार उच्च अदालत, जनकपुरमा मुद्दा दायर गरेका हुन् ।
उनले जाहेर गरेको रिटमा सुनुवाई गर्दै बीरगन्जका ६ वटा होटललाई पत्र पाएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्रमा अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न अदालते आदेश दिएको छ । बीरगन्जका फुड कोर्ट फेमिली रेष्टुरेन्ट महावीरस्थान, डिलाइट गो मिट एण्ड चिल श्रीपुर, द बर्गर हाउस बीरगन्ज, वन ११ लन्ज आदर्शनगर, इन्फिनिटी लन्ज घण्टाघर र हल्ट माल्ट लन्ज घण्टाघरको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी भएको हो ।
यसअघि, एक उपभोक्ताले ठगीमा परेको भन्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतले मेनुभन्दाबाहेक अतिरिक्त रकम लिने कार्य गैरकानुनी ठहर गरेको थियो । जिल्ला अदालतले मेनुमा अतिरिक्त रकम जोड्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ विपरीत भएको फैसलामा भनेको छ। जिल्ला अदालतको यो फैसलापछि अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र भ्याटका नाममा थप रकम लिएमा ठगी हुने छ ।
मदन ढुंगानाले काठमाडौंको बुढानीलकण्ठस्थित ग्रिन भ्याली रिसोर्टविरुद्ध दायर गरेको मुद्दामा २०७९ भदौ ०२ गते जिल्ला अदालतले फैसला सुनाउँदै यस्तो ठहर गरेको थियो ।
आन्तरिक राजश्व कार्यालयको जवाफमा पनि होटल तथा रेष्टुराँहरुले आफ्नो मेनु प्राइस तयार गर्दा नै यस्तो सबै कुरा समावेश गर्नुपर्ने र पछि थप गर्न नमिल्ने उल्लेख गरेको भन्दै जिल्ला अदालत काठमाडौंले यस्तो रकम थप गरी लिएमा ठगी हुने उल्लेख छ ।‘ उपभोक्ता संरक्षण ऐन, २०७५ ले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानी नोक्सानीवापत क्षतिपूर्ति उपलब्ध गराउने हक सुनिश्चित गरेको छ,’ फैसलामा भनिएको छ, ‘उक्त ऐनले वस्तु वा सेवाको प्रयोगबाट भएको हानी नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार उपभोक्तामा सुरक्षित गरेको देखिन्छ । साभाल : नेपाल पोस्त डेलि