। बलात्कारको आरोप लागेका ‘लिटिल बुद्ध’का नामले चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जन फेलापर्न सकेका छैनन् । उनले अदालतले हाजिर हुन दिएको म्याद उपस्थित नभएरै गुजारेका छन् ।
बम्जनमाथि जिल्ला अदालत सर्लाहीमा बलात्कारको मुद्दा विचाराधीन छ । ०७७ साल कात्तिक २४ गते जिल्ला अदालत सर्लाहीबाट बाराको निजगढ नगरपालिका–१२ मा रहेको बम्जनको घरमा ३५ दिने सूचना टाँसिएको थियो । तर, उनी तोकिएको समयभित्र अदालतमा उपस्थित भएनन् । बम्जनविरुद्ध उनकै आश्रममा रहेकी एक किशोरीमाथि बलात्कार गरेको आरोप छ । बम्जनले सर्लाहीको पत्थरकोटस्थित आश्रममा ०७३ साउन २० गते राति आफूमाथि बलात्कार गरेको ती किशोरीको आरोप छ । उनीमाथि केही आनीलाई बेपत्ता बनाएको आरोप समेत लागेको छ ।
०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीले बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको म्याद गुजारेकाले उनले आफ्नो पक्षबाट वकिल समेत राख्न पाउने छैनन् । अभियुक्त स्वयं अदालतमा उपस्थित भए, तारेख वा धरौटीमा छुटे मात्र उनले आफ्नो तर्फबाट वकिल राख्न पाउने कानुनी व्यवस्था छ । बम्जन लुकीछिपी बस्दै आएका छन् । प्रहरीले भने बम्जन सिन्धुलीको जंगलमा लुकेको दाबी गर्दै आएको छ । बम्जन बस्ने सिन्धुलीस्थित आश्रममा प्रहरीले दुईपटक छापा मारेको थियो ।
तर, उनी फेला परेनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायत प्रहरीको विशेष टोली बम्जनको खोजीमा सक्रिय रहँदै आएको छ । सिन्धुलीको उनको आश्रम जंगल क्षेत्रमा पर्ने र जंगलमा पूरै ‘सर्च अपरेसन’ चलाउन कठिनाइ भएको प्रहरी अधिकारीहरू बताउँछन् । जंगलमा सर्च गर्न साधन–स्रोतको समेत अभाव भएको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरीका एक उच्च अधिकारी भन्छन्, “जंगलमा उनको भव्य आश्रम छ । जंगलबाट उनको आश्रम नै हटाउनुपर्ने हो । तर, राज्य यसबारे केही गर्दैन । हेलिकोप्टरबाट पूरै जंगल सर्च पनि गर्न सकिन्थ्यो । भारतलगायत विदेशबाट अपराधी ल्याउन सक्ने प्रहरीले नेपालमै लुकेकालाई खोज्न नसक्ने भन्ने होइन । तर, सरकारकै तत्परता यसमा देखिँदैन । सबै कुरा प्रहरीले चाहेर मात्रै हुँदैन । सरकारी र स्थानीय जनप्रतिनिधि नै बम्जनका सुराकी र सहयोगी छन् ।”
बम्जनले आश्रम क्षेत्रमा प्रहरीले जस्तै आफ्ना सुराकी समेत राखेको प्रहरीको जिकिर छ । ती सुराकीले प्रहरीसँगै नयाँ मान्छे आश्रम क्षेत्रमा पुगेको निगरानी गर्ने भएकाले खोजीमा समस्या भएको बताइन्छ । सीआईबी, विशेष ब्युरो, सिन्धुली प्रहरी र सिन्धुपाल्चोक प्रहरीले समेत उनको खोजीकार्य जारी राखेको छ । जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले बालबालिकासम्बन्धी ऐन, ०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । जसमा बम्जनसहित तीनजनालाई प्रतिवादी बनाइएको छ ।
मुख्य प्रतिवादी रामबहादुर बम्जन नै छन् । बम्जनलाई १४ वर्षसम्म र अरू दुईजनालाई त्यसको आधा सजायको मागदाबी छ । तीनैजना फरार छन् । बम्जनको आश्रम रहेको सिन्धुलीको जंगलमा अत्याधुनिक भवन बनाइएका छन् । सोही जंगलमा जिमहाउस पनि छ ।
बम्जनले ठाउँठाउँमा ‘सेन्ट्री पोस्ट’ निर्माण गराएका छन् । त्यहाँ उनका सुरक्षा सहयोगी छन् । उनका अधिकांश सुरक्षा सहयोगी मार्सलआर्ट, कराँतेलगायत खेलाडी रहेको बताइन्छ । उनीहरूले नयाँ मान्छे वा प्रहरी आश्रम क्षेत्रमा प्रवेश गर्दा भित्र सूचना पठाउँछन् । झन्डै ३५ बिघा क्षेत्रको घना जंगलमा बम्जनको आश्रम फैलिएको प्रहरीको दाबी छ । बम्जनले जंगलमै सुरङमार्ग पनि बनाएको हुन सक्ने प्रहरी आशंका छ । त्यस्तो सुरुङमार्ग निर्माण गर्ने काममा खटिएको आशंकामा सीआईबीले एकजनालाई पक्राउ गरेको थियो । उनकै सूचनाका आधारमा सीआईबीको टोलीले आश्रममा छापा मारेको थियो । तर, प्रहरीको सूचना चुहिएकाले उनी भाग्न सफल भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।