वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक नभएको गहुँ लोड गरिएको ट्याक्टरसहिच चालकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित सडकखण्डबाट प्रहरीले १ सय ३० बोरा गहुँ लोड गरीएको ना ३ त ५७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
बाराको परवानीपुरतर्फ जाँदै गरेको अवस्थामा ट्याक्टर रोकि चेकजाँच गर्दा बिलबिजक नभएको फेला परेपछि चालकसँगै ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा ट्याक्टर चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ निवासी २३ वर्षीय रिकेश पटेल रहेका छन् । ट्याक्टरमा लोड रहेको गहुँलाई ३ लाख ४३ हजार २ सय रुपैयाँ र ट्याक्टरलाई ५ लाख रुपैयाँ मूल्यांकन गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।