वीरगंज । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारले निजी सञ्चार माध्यममा प्रचार प्रसार गर्न पाउने भएका छन् । राजनीतिक दल र उम्मेदवारले आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्ने सन्दर्भमा निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ । आयोगद्वारा जारी सूचनाका आधारमा उम्मेदवारले आफ्नो घोषणापत्र र प्रतिबद्धता मतदातासम्म पुर्याउन सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । दल र उम्मेदवारले हरेक दिन निजी सञ्चारमाध्यममार्फत आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्न सक्नेछन् ।
उम्मेदवारहरू अब प्रचारमा जान सक्छन् तर आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुनेभन्दा १७ दिनअघिदेखि मात्रै निर्वाचन प्रचारका लागि जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यमबाट कुनै प्रकारको सामग्री प्रकाशन, प्रसारण र घरदैलो कार्यक्रम गर्न पाउनेछन् ।मतदान हुने दिनको ४८ घण्टाअघिदेखि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार र दलको भ्रातृ संगठनले कुनै पनि माध्यमबाट मत माग्न र प्रचारप्रसार गर्न पाइँदैन । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा व्यवस्था छ ।
आमसभामा र घरदैलोमा १० वटा झन्डा मात्रै बोक्न पाउनेछ । यस्तो कार्यक्रममा २५ जनामा सीमित हुनुपर्ने व्यवस्था राखिएको छ । बाजा, झाँकी प्रदर्शनमा पनि रोक लगाइएको छ । अनलाइन, टीभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटीएम काउन्टरमा सन्देश वा सडक नाटकको माध्यमबाट पनि दल र उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने प्रावधान राखिएको छ । राजनीतिक दल र उम्मेदवारको बढीमा एउटा आधिकारिक निजी वेबपेजमा प्रसारप्रसार राख्न भने पाउने व्यवस्था आचारसंहितामा राखिएको छ ।