वीरगंज । जंक फुड खाद्य वस्तुलाई कसरी बनाइएको छ भन्नेमा भर पर्छ । एउटै वस्तुबाट बनाइएका परिकार कुनै जंक फुड हुन्छ भने कुनै नहुन सक्छ । आलुलाई उसिनेर खाँदा पोषिलो हुन्छ तर आलुलाई तेलमा तारेर त्यसमा भिटामिन, मिनरल बाँकि रहँदैन त्यसैले यो जंक फुड हो । त्यस्तै फ्राइड चिकेन, केक, चिजबल, चाउचाउ आदि पनि जंक फुड नै हुन् । जंक फुड बनाउँदा पोषणभन्दा स्वादिष्ट बनाउनुमा बढी ध्यान दिइएको हुन्छ । रेसादार पदार्थ (फाइवर)को मात्रा कम भएका, क्यालोरी बढी भएका, चिल्लो बढी भएका तथा गुलियो बढी भएका, तेलमा डुवाएर तारिएका र स्वाद बृद्धिमा बढी ध्यान दिएर पकाएका खानाहरु जंक फुडहरु हुन् । यी खाद्य वस्तुले शरीरलाई मोटो बनाउने, मधुमेह, रक्तचाप, कोलेष्टेरोल बढाउने जस्ता समस्याहरु उत्पन्न गर्न सक्छन् । जंक फुडहरुमा रेशादार पदार्थ नै नहुने हुनाले यसले कब्जियत गराउन सक्छ । रेशादार पदार्थको अभावले अन्य थुप्रै समस्यामा हुन्छ ।
जंक फुडमा प्रसस्त चिनी मिसाइने भएकाले यस्ता खाना धेरै खाँदा मधुमेह हुने सम्भावना निकै बढ्छ । शरीरको तौल बढ्ने, आलस्यता बढ्ने, फुर्ति हराउने, खुट्टाहरु दुख्ने जस्ता समस्या शुरु हुन्छ । साथै तौल बढे पछि रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा पनि समस्या उत्पन्न हुने हुन्छ । गुलियोको बढी खानाले दाँत किराले खाई दाँत झर्ने, भाँच्चिने, प्वाल पर्ने जस्ता समस्या देखा पर्छन । जंक फुड खानाले बालबालिकाको दाँतमा नराम्रो असर पु¥याएको पाइन्छ । बालबालिकाको दूधे दाँत पछिको दाँतलाई पनि व्यायाम चाहिन्छ । चिउरा, रोटी, मकै, भटमास, काँक्रो, गाजर, मुला चपाउँदा दाँतलाई व्यायाम हुन्छ । अहिले बालबालिकाले चाउचाउ, चिजबल, केक जस्ता जंक फुड खाँदा गुलियो पदार्थले दाँतमा व्याक्टेरिया र एसिड उत्पादन गर्न मद्दत्त गर्छ । जसले दाँतको इनामेललाई नस्ट गर्न सघाउँछ । जंक फुडको स्वाद बढाउनका लागि अत्यधिक मात्रामा चिल्लो प्रयोग गरिएको हुन्छ । चिल्लो पदार्थ बढी भएका खाना खाँदा शरीरमा बोसोको मात्रा बढ्छ । यसबाट खराव कोलेस्टेरोल बढि रक्तसञ्चार प्रणालीमा असर गर्न सक्छ । यसबाट हृदयघात हुने खतरा बढाए । शरीरमा कोलेस्टेराल बृद्धि मुटु रोगको प्रमुख कारण मानिएको छ । साथै चिल्लो पदार्थले शरीरको पाचन प्रणालीमा पनि प्रत्यक्ष असर गर्छ । यसले एसिडिटी बढेर समस्या उत्पन्न गराउँछ । चिल्लोले शरीरको तौल, रक्तचाप, मधुमेह हुन सक्छ । बोसो बढ्दै गएमा कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन ।
दालमोट, चिप्सहरु, भुजिया, पापड आदिमा नुनको मात्रा चाहिनेभन्दा बढी हुन्छ । शरीरमा नुनको मात्रा चाहिने भन्दा बढी भएमा उच्च रक्तचाप बृद्धि हुन्छ । रक्तचाप बृद्धि भए मुटुलाई असर गर्छ । साथै मिर्गौलामा समस्या, मस्तिष्क घात हुने सम्भावना बृद्धि हुन्छ । किशोरावस्थामा शरीरमा अनेक किसिमका हार्मोनसम्बन्धी परिवर्तन हुन्छ । यसलाई सन्तुलन गर्न सन्तुलित आहारको खानु पर्छ । तर बारम्बार जंकफुड खानाले शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्दैन । जसका कारण किशोरकिशोरीमा चिडचिडाहट हुने, मन उदास हुने, डिप्रेसन हुने लगायतका विभिन्न मानसिक समस्या उत्पन्न हुन्छ । मानसिक समस्याले कुनै न कुनै रुपमा मुटु र मस्तिष्कलाई पनि असर पु¥याउँछ । जंक फुड धेरै खाँदा कुपोषणको समस्या हुने गरेको पाइएको छ । यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरु खाना खान मन नलाग्ने हुन्छ । कतिपय बालबालिकालाई लत नै लागेको हुन्छ । जंक फुडको बढी सेवनले कुपोषण भई विभिन्न रोगले आक्रमण गर्छ । जंक फुडमा क्यालोरी बढी हुने भएकाले बालबालिका सानैदेखि मोटाउन थाल्छन् । यो मोटोपन भविष्यमा विभिन्न रोगको कारक बन्न पुग्छ ।