उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित वहेडवा थारु सामुदायिक होमस्टे (घरबास)लाई व्यवस्थित गर्न चन्दा संकलन गरी साँस्कृति भवन निर्माण गरिने भएको छ। विगत एक वर्षदेखि सामुदायिक होमस्टे सञ्चालनमा आए पनि थारु समुदायको कला, संस्कृति संरक्षणमा कसैको नजर नपुगेपछि होमस्टे सञ्चालक समितिले चन्दा उठाएर भवन निर्माण गर्ने तयारी गरेको हो। निर्माण गर्न लागिएको सांस्कृतिक भवनको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्तरुपमा सिलान्यास गरे। थारु परिकार र कला संस्कृतिको मौलिकतामा जोड दिइएको होमस्टेको क्षमता तीस जनाको रहेको अध्यक्ष भगवानसिंह चौधरीले बताए।
होमस्टे ७ वटा घरमा सञ्चालन गरिएको छ। थारु समुदायको कला, संस्कृति, परिकार, पौराणिक मान्यतालाई स्थापित गर्न खोजिएको होमस्टेमा खानका लागि थारु समुदायको परिकार बगिया, घुँगि, सिद्रा, भुजिया, उसिनाको खाना, तेलमररोटी, अमादीको अचार लगायतका रहेको उनले बताए। त्यसैगरी साँझमा बास बस्न आउने पाहुनाका लागि थारु संस्कृतिको जटाजाटी, धुम्रानाच, सामाचकेवा, स्वरठी लगायता नृत्य तथा गायनहरु रहेको प्राविधिक सल्लाहकार उत्तिमचन्द्र चौधरीले बताए। उनले भने, ‘नितान्त स्थानीय परिकार त्यो पनि थारु समुदायको परिकार र संस्कृतिमा जोड दिएकाछौ, आशा छ सबैलाई माया गरिदिनु हुने छ।’
अध्यक्ष चौधरीले होमस्टे सञ्चालनका लागि हालसम्म त्रियुगा नगरपालिकाले तालिम, घरेलु तथा साना विकास कार्यालयले भाँडा खरिदका लागि तीस हजार सहयोग गरेको वाँकी सबै आफ्नै लगानी रहेको बताए। १० लाख रुपैँयाका लागतमा निमार्ण गर्न लागिएको भवनको शिलान्यास गर्दै मेयर बस्नेतले थारु समुदायको कला संस्कृति संरक्षणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उपमेयर राईले थारु पहिचान झल्कने कला, वयलगाडाबाट घुम्ने जस्ता साधनहहरुको प्रयोगमा जोड दिनुपर्ने बताए। कार्यक्रममा होमस्टे सञ्चालनका लागि सहयोग पुर्याउने व्यक्तिहरुलाई सञ्चालक समितिले विभिन्न जिम्वेवारीको मनोनयन पत्र हस्तान्तरण गरिएको थियो।