वीरगंज । यो पनि एउटा विरोधाभाषजस्तै छ, अक्सर टीभी हेर्ने फुर्सद वा मन हुँदैन । तर, साह्रै अल्छी लागेको, कुनै विषयमा ध्यानकेन्द्रित हुन नसकेको अवस्थामा टीभी हेर्ने प्रयास गर्ने गर्छु । तर, व्यापारिक प्रयोजनका लागि चलाइएका अधिकांश च्यानलमा विज्ञापन यति भरमार आउँछन् कि हेर्न बसेको समयको झन्डै दुईतिहाइ समय विज्ञापन हेर्न बाध्य हुइन्छ । अल्छीपना बढेर पराकाष्ठामा पुग्दछ । क्या विडम्बना ! एउटा च्यानलमा विज्ञापन आयो भनेर अर्कोमा सार्यो, त्यसपछि अर्को… त्यसपछि झन् अर्को…! केबुलबाट आउने करिब–करिब बीस पच्चीस च्यानलमा घुम्दा अधिकांश समय विज्ञापन मात्रै पो हेर्न बाध्य भएको आफूलाई पाउने गरेको छु । अनि, सुरुमा भएको मनको झर्को झन् बढी, मनभरि नै हुने गरेको पाउँछु । सायद यो मजस्तै बल्लबल्ल पाएको फुर्सदमा टीभी हेर्न मौका पाउने प्रत्येक व्यक्तिको कथा हो । टीभीको केबुल तारको तीव्र विस्तारले दर्शकहरूलाई खाए खा नखाए घिच भन्ने पाराले कार्यक्रम कम विज्ञापन बढी पस्किरहेका छन् । म भने यी विज्ञापनका पीडा अजीर्णको रूपमा, त्यो पनि ‘दीर्घ अजीर्ण’को रूपमा देखापर्न थालेको अनुभव गर्न थालेको छु । यस्तै अल्छी लागेको क्षणमा टीभी हेर्ने भनौँ कि टीभीको रिमोट कन्ट्रोल किट ! किट !! गर्ने क्रममा भनौँ, केही दिनअगाडि एउटा विज्ञापनले मेरो ध्यान अनायासै गम्भीर रूपमा तानेको महसुस गरेँ । विज्ञापन रहेछ, एउटा सुगन्धित स्प्रेको । थुप्रै स्प्रे र सौन्दर्य प्रशाधनको विज्ञापनको बाढीमा झुल्किन पुगेको उक्त विज्ञापनले मलाई धेरै कुरा सोच्न र कतिपय साथीहरूसित उक्त विज्ञापनको बारेमा कुरा गर्न बाध्य तुल्यायो ।
स्कुलमा पढ्दा एउटा लामो अंग्रेजी कविता पढ्नुपरेको थियो । ‘पाइड पाइपर अफ हेमेलिन’ भन्ने । बडो रमाइलो कथा थियो, उक्त कवितामा । हेमेलिन भन्ने सहरमा मुसाको बिगबिगी उपद्रवकै रूपमा फैलिएकोले त्यस सहरका मेयरले एकजना वाद्यवादक (पाइड पाइपर)लाई सबै मुसालाई बाजाको धुनमा लठ्याएर सिध्याउने काम जिम्मा लगाए । उसले उक्त कार्य सफलतापूर्वक सम्पन्न गरेपछि, सहरका मेयरले उसलाई पारिश्रमिक दिन इन्कार गर्छन् । यसरी ठगिएको उक्त वाद्यवादकले अर्को धुन बजाएर सहरभरिका बालकहरूलाई लठ्याएर पहाडको गुफामा विलीन गराउँदछ । सन्देशयुक्त सुन्दर कथाको उक्त प्रसंगलाई अहिले साह्रै भद्दा किसिमले विज्ञापन बनाएको महसुस गरेँ । विज्ञापनमा, पैसा दिन इन्कार गरेपछि उक्त वाद्यवादकले एउटा बडी स्प्रे शरीरमा छर्किन्छन् । जसको प्रभावमा युवतीहरू मुग्ध भएर उसको पछि लाग्दछन् । म विस्मृत भएँ यो विज्ञापनको प्रस्तुतिबाट । मैले केही साथीहरूसित चर्चा गरेँ, यस्तो विज्ञापन पो बनाएछन् भनेर । कसैकसैको प्रतिक्रियाबाट त म छक्क परेँ । कसैकसैले त यसलाई क्या कल्पनाशील प्रयोग गरेकोसम्म पनि भन्नुभयो । विचार त आआफ्नो हो, मैले के बढी कुरा गर्नु ? तर, महिलालाई (युवती) बाजामा लठ्ठिने मुसा वा बालकसित तुलना गर्नु वा अझ सुगन्धमा मोहित भएर हिँडेको देखाउनु, मेरो चित्त बुझ्नै सकेन । विज्ञापन बनाउनेप्रति क्षोभ उत्पन्न भएर आयो । पूर्वेली दर्शनमा हुर्किएका हामीहरूको नसानसामा जहाँ नारीहरू पुजिन्छन्, त्यहीँ देवताहरू रमाउँछन् भन्ने धारणा प्रवाहित भइरहेको छ । हामी त सीता, सावित्री, गार्गी, अनुसुया, मिराहरूजस्ता अतुलनीय नारीहरूको गाथा मनन् गरेर हुर्किएको संस्कृतिको मान्छे । हाम्रो धरोहर भनेको त नारीलाई सबै शक्तिको स्वरूपा भन्ने दृढ विश्वास पो हो त ! कठै, यो विज्ञापन ! म त तीन छक परेँ यस प्रस्तुतिबाट । कस्तो संवेदनहीन व्यक्तिको सोचाइ होला ! आजको युगमा, स्त्री पुरुषको बराबरीको कुरामा कसैको पनि सन्देह र द्विविधा छैन । तथापि, सम्पूर्ण महिलावर्ग कै अपमान हुने, मानवीय मूल्यको नै अवमूल्यन गर्ने खालको विज्ञापन प्रसारित भइरहेछ । यस्तो गम्भीर विषयलाई पनि हास्यास्पद रूपमा प्रस्तुत गर्न कसरी छुट दिए होलान् ? तयार गर्ने, प्रसारण गर्न दिने, निर्णयकर्ताहरूले ।
विज्ञापनमा प्रयोग भएका पात्रहरूको अनुहार विचार गरेँ । धन्य ! यिनीहरू यस उपमहाद्वीपका जस्ता देखिएनन् । अनुहार हेर्दा पश्चिमा महाद्वीपका जस्ता लागे । अनि, हाँसो पनि उठेर आयो । यिनै पश्चिमाहरू अहिले लैंगिक समानतालाई मन्त्रजस्तै घोकाउन खोज्छन्, हामीलाई । फेरि पश्चिममा पनि त मलाई सयजना असल आमा देउ, म असल राष्ट्र दिन्छु भन्ने दार्शनिकहरू छन् नि त ! तर पनि सम्पूर्ण महिलाहरूको उपहास गर्ने विज्ञापन बनाउने सोचाइ कसरी आयो होला ? विज्ञापन निर्माणसँग सम्बन्धित सबैले कसरी सहमति जनाए होलान् ! अनि, महिलाहरूले नै पनि त्यसमा प्रस्तुत हुने स्वीकृति कसरी दिएका होलान ? विज्ञापनमा नारीका अंग प्रदर्शनको विरुद्धमा उठाइएका आवाजहरू सुन्ने, पढ्ने, देखिने गरेको छ । तर, सोचाइलाई नै यस किसिमले होच्याएर प्रस्तुत गरेको विज्ञापन भने मेरो जानकारीमा यो पहिलो नै हो । यस उपमहाद्वीपमा महिलाहरूको शरीर प्रदर्शन हुने विज्ञापन मात्र हैन, सौन्दर्य प्रतियोगिताहरूकै पनि कहिलेकाहीँ तीव्र विरोध हुने गरेको सन्दर्भमा मलाई यस विज्ञापनको प्रसारणप्रति कतैबाट विरोध व्यक्त नभएको देख्दा अस्वाभाविक लागिरहेछ । शरीर प्रदर्शनभन्दा यो स्प्रेमा मुग्ध भएर हिँडेको प्रस्तुति मलाई अत्यन्त आपत्तिजनक लागेको छ । उक्त विज्ञापनको प्रस्तुतिलाई कसरी प्रसारण गरेको होला ? यसको विरोधमा कतै कहीँ लेखिन्छ कि भनेर म अखबारका पानाहरूमा खोज्दै छु । अझसम्म कतै देखेको छैन । सायद यसलाई कसैले लेख्ने विषय नै ठानेनन् । आशा गरौँ, एउटा सुन्दर कविताको मर्मलाई, यस्तो भद्दा विज्ञापनको माध्यमबाट गरिएको महिलाहरूको विवेक शक्तिप्रतिको अनादरको प्रयासलाई छिट्टै नै फिर्ता गरिनेछ । कुनै पनि टीभी च्यानलबाट यस्तो फेरि देखाउने प्रयास नहोस् भन्ने प्रयास हुनेछ ।