फेसबुकले हटायो १ करोड १६ लाख बाल दुर्व्यवहार सम्बन्धी पोस्ट
वीरगंज संजाल
२९ कार्तिक २०७६, शुक्रबार ०६:०८
४०२७
वाशिङ्टन डीसी (अमेरिका) । सन् २०१९ को तेस्रो त्रैमासमा फेसबुकले १ करोड १६ लाख बाल दुर्व्यवहारसम्बन्धी पोस्ट हटाएको छ । अमेरिकी सामाजिक सञ्जाल कम्पनीले आफ्नो प्लेटफर्मबाट हानिकारक विषयवस्तु हटाउने योजनाअनुसार उक्त पोस्टहरू हटाएको हो । त्यसका साथै फेसबुकले आफ्ना अन्य प्लेटफर्ममा पनि आत्महत्या वा आफैंलाई हानी गर्ने किसिमको पोस्ट हटाउने बताएको छ ।
फेसबुकका अधिकारीहरूले आफूहरू कम्पनीको नियमको उलंघन नहोस् भन्ने विषयमा संवेदनशील रहेको बताएका छन् । वर्षको तेस्रो त्रैमासमा इन्स्टाग्रामबाट पनि ७ लाख ५४ हजार बाल दुव्र्यवहारसम्बन्धी पोस्ट हटाइएको थियो । सो अवधिमा फेसबुकबाट २५ लाख आत्महत्या र आफैंलाई चोट पुर्याउने किसिमका पोस्ट हटाइएको थियो ।
इन्स्टाग्रामबाट पनि ८ लाख ४५ हजार यस्ता पोस्ट हटाइएको थियो । फेसबुकबाट ४४ लाख लागूऔषध कारोबार, २३ लाख हातहतियारसम्बन्धी पोस्ट हटाइएको थियो । त्यस्तै इन्स्टाग्राममा १५ लाख लागूऔषध, ५८ हजार हातहतियार र १ लाख ३३ हजार आतंकवादी गतिविधिका पोस्ट हटाइएको थियो । एजेन्सी