वीरगंज । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो। साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ। भर्ना हुन चाहनेले २४ देखि ३० असोज भित्र फाराम भरिसक्नु पर्नेछ ।
आवेदन फारम नेपाल प्रहरीको वेबसाइट नेपाल पुलिस डट जिओभी डट एनपीमा राखिएको छ। उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्चसमेत पाउनेछन्। निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि ५५ दिनका लागि हुनेछ। ७७ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सकिनेछ। उपत्यकाको हकमा प्रहरी परिसर काठमाडौ,ँ भक्तपुर र ललितपुरमा कार्यालयमार्फत फारम बुझाउन सकिनेछ। तर, नवलपरासी र रुकम जिल्लाको आधा–आधा भाग छुट्टा–छुट्टै प्रदेशमा गभिएको हुनाले त्यस जिल्लाकाले साबिक नवलपरासी र रुकम जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सक्नेछन्।
५ देखि ८ कात्तिकसम्म छनोट हुने र १० कात्तिकमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। १२ देखि २४ कात्तिकसम्म तालिम दिएर उनीहरूलाई निर्वाचनको सुरक्षामा खटाउने तयारी छ। अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रूपमा काम गरेका तथा गार्डका रूपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ। सरकारले अघिल्लो स्थानीय तहको चुनावमा ७५ हजार म्यादी प्रहरीको भर्ना खोलेको थियो ।