वीरगंज । पूर्व क्रिकेटर तथा क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा आबद्ध क्रिकेट म्यानेजर विनोद दासले राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेको बचाउ गरेका छन् ।
ठोस प्रमाण र आधारविना आरोप लगाउनु लगत भएको उनको भनाइ छ । लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै दासले भने, ‘कुनै आधार र ठोस प्रमाणविना आरोप लगाउनु गलत हो ।’कुनै व्यक्तिको करीयरभन्दा पनि दुईवटा परिवारको विषय जोडिएकाले त्यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । यस विषयमा छलफल गर्न क्यानको बोर्ड बैठक बस्ने तयारी भएको दासले बताए । क्यानले सन्दीपसँग यसबारे कुराकानी गर्न बाँकी नै रहेको उनले खुलाए ।
‘उहाँ (सन्दीप)सँग कुराकानी हुन पाएको छैन । हामीले पनि राति मिडियाबाट थाहा पायौं, अहिले उता (वेस्टइन्डिजमा) राति भएकाले कुराकानी हुन नपाएको हो,’ दासले लोकान्तरसँग भने । १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक जबरजस्तीकरणी गरेको आरोप सन्दीपमाथि छ । किटानी जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ भने घटनाका सम्बन्धमा सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । पीडितका तर्फबाट मंगलवार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको हो । सन्दीप हाल क्यारेबियन प्रिमियर लीग खेल्न वेस्टइन्डिजमा छन् ।