बंगलादेश |बंगलादेशको ब्रह्मानबरिया जिल्लामा मंगलबार बिहान दुईवटा रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तिमा ५८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख अनीसुर रहमानले एएफपी समाचार एजेन्सीलाई भने, “कम्तिमा १५ जनाको मृत्यु भएको छ र ५८ जना घाइते भएका छन् । हामीले घाइतेहरुलाई बिभिन्न अस्पतालहरुमा पठाएका छौं।”
दक्षिणी बन्दरगाह शहर चटगाउँ र ढाकाको लागि जाने एउटा ट्रेन बिहान ३:०० बजे ब्राह्मणबारीयामा राजधानीको १०० किलोमिटर पूर्वमा एक आपसमा ठक्किएर दुर्घटना भएको थियो । रहमानका अनुसार प्रभावित यात्रीहरूमध्ये केही यात्रुहरु अझै फसेको हुन सक्ने भएकाले मर्नेहरूको संख्या बढ्न सक्छ।
दुर्घटनापछि राजधानी ढाका र दुई अन्य महत्त्वपूर्ण सिलहट र चटगाउँ चल्ने रेल सेवा बन्द गरिएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको भन्दै एक रेलवे अधिकारीले भनेका छन्, “हामी अझै पनि उद्धार अभियान सञ्चालन गर्दैछौं, दोषपूर्ण सिग्नलका कारण दुर्घटना भएको हुन सक्छ ।”