रौतहट । कुमार चन्दन। संरक्षण र सम्वर्धनको अभाव महत्वहीन बनेको बरहवा तालको सरसफाइ नेपाली सेनाले थालेको छ । सदरमुकाम गौरमा रहेको पुरेनवास्थित श्री वीर दल गुल्मका प्रमुख सेनानी गंगा बहादुर विष्टको नेतृत्वमा बरहवा तालको सफाइ हुन थालेको हो । प्राचीन कालमा गौरा दह भनेर चिनिने यही तालको नामबाट सदरमुकाम गौरको नाम रहन गएको छ ।
लोकमहाकाव्य लोरिकायनमा गौरा दहको प्रसंग पाइन्छ । विगत केही समयदेखि नेपाली सेना तथा गौर नगरपालिकाले बरहवा तालको संरक्षणको लागि आफ्नै किसिमले प्रयास गरेको भए पनि पर्यटकीय रुप लिन सकेको छैन । बरहवा तालको सौन्दर्यीकरण तथा पर्यटकीय दृष्टिकोणले विकास गर्ने काममा जति सफलता प्राप्त हुनुपर्ने हो, त्यो नभएपछि संरक्षण हुन नसकेको हो ।सदरमुकाम गौरको उत्तर र पूर्वमा रहेको लाम्चो आकारको बरहवा ताल संरक्षणको अभावमा जलकुम्भीले भरिइसकेको थियो । जलकुम्भीले तालको पूरै पानी छोपिइसकेको अवस्थामा नेपाली सेनाले सरसफाइको काम सुरु गरेको हो ।
सरसफाइ तिन दिनसम्म चल्ने गणका प्रमुख सेनानी विष्टले बताएका छन् । जिल्लाको पहिचान र पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक बरहवा तालको संरक्षणको लागि नगरपालिकाले विभिन्न निकायसित समन्वय गरिरहेको गौर नगरपालिकाका प्रमुख शम्भु साह कानुले बताएका छन् । बरहवा तालको संरक्षण र संवर्धनमा नेपाली सेनाले विगतदेखि महत्वपूर्ण योगदान दिएकोमा प्रशंसा गर्दै नगर प्रमुख साहले गणका प्रमुख सेनानी विष्टको नेतृत्वमा भइरहेको सरसफाइको काम पनि सराहनीय भएको बताएका छन् ।