वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका कुनै पनि व्यक्तिले पर्सा जिल्ला भरी निःशूल्क रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्ने भएका छन् । गाउँपालिलाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाका सेवाग्राहीलाई जिल्ला भरीको कुनै पनि अस्पालमा जाँदा कुनै पनि शूल्क नलाग्ने जानकारी गराएका छन् ।
सखुवाप्रसौनी गाउँपालिकाको नवौँ गाउँ सभाबाट भएको निर्णयबमोजिम निर्धारण गरिएको एम्बुलेन्स भाडादर भदौ १ गतेदेखि कार्यन्वयनमा आइसकेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए । गाउँपालिकाका सेवाग्राहीका लागि एम्बुलेन्स सेवा निःशूल्क गरिएको अध्यक्ष यादवको भनाई छ ।
सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिर जानुपरेमा ईन्धन खर्च सेवाग्राही स्वयमले व्यहोर्नुपर्ने अध्यक्ष यादवले जानकारी दिए । सखुवाप्रसौनी गाउँपालिका बाहेकका अन्य नागरिकको हकमा भने साविक बमोजिम नै एम्बुलेनस भाडा लागु हुनेछ ।