संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरु छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिब्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।
कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई ‘असा दि भार’ भनिन्छ । यस्ता भेलाहरुलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछी ‘लगांरु’ अर्थात नि:शुल्क सामूदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलाई त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई ‘अखण्डपथु’ भनिन्छ ।
यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु आदिको प्रदर्शन र त्यससंग सम्बन्धित आत्मरक्षामा आधारीत पारम्परीक खेल देखाइने गरिन्छ ।
रात्रिकालिन भजनकिर्तनलाई ‘रहरास साहिब पाठ’ भनिन्छ । भारतको पञ्जाव, हरियाणा, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साह र उत्सर्गकासाथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समूदायहरुले आजको दिनलाई हर्षका साथ मनाउने गरेकाछन् ।
नेपालमा पनि धेरै ठाँउमा गुरुद्वारा रहेकाछन्, ति सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेलाभएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरुको पनि उत्साहजनक संलग्नता सहभागीता देख्न पाइन्छ ।
यस संसारलाई अझै धेरै गुरु नानकहरु जस्ता महान गुरुहरु र महान वचनको खाँचो छ, सत्यमार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्तिमार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समूदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।