वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ भेटेर वीरगन्जमा विधुतसंग सम्बन्धित विद्यमान समस्या बारे ध्यानाकर्षण गराएका छन्। बुधबार काठमाडौंमा विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झासंगै घिसिङलाइ भेटेर मेयर सिंहले वीरगन्ज महानगरमा विद्यमान विधुतसंग सम्बन्धित समस्याहरु बारे ध्यानाकर्षण गराएका हुन्।
त्यस क्रममा मेयर सिंहले वीरगन्जमा भइरहेको अनियमित विधुत कटौतीको समस्या तत्काल समाधान गरिदिन घिसिङसंग आग्रह गरे। यसका साथै सिंहले वीरगन्जमा सडक बत्ती व्यवस्थापनका लागि फिप्थ वायर जडान, वीरगन्मज महानगरमा भुमिगत तार व्यवस्थापन, पानीटंकी क्षेत्रका घरमाथिकाे हाईटेन्सन लाईन स्थानान्तरण र बाईपास ईनर्वा क्षेत्रकाे हाईटेन्सन लाईन स्थानान्तरण गरिदिन पनि आग्रह गरे ।
उनले वीरगन्ज महानगर क्षेत्रमा अहिले रहेको नाङ्गो तार हटाई केबल वायर जडान लगायतको समस्या समाधानको लागि पनि घिसिङसंग आग्रह गरे ।जवाफमा कार्यकारी निर्देशक घिसिङले मेयर सिंहले ध्यानाकर्षण गराएका समस्याहरु समाधानकाे प्रकृयामा लैजान वीरगन्ज वितरण केन्द्रका प्रमुख झालाई निर्देशन दिएकाे छलफलमा सहभागी मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।