वीरगंज । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको छ। गत २४ घण्टामा ८२५ जनामा संक्रमण पुष्टि हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ। यसअघि बुधबार तीन, मंगलबार दुई र सोमबार एक जना संक्रमितको मृत्यु भएको थियो। साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
गत फागुन २७ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर पुनः बढ्न थालेको हो। साउन १ गतेबाट सुरु हुन थालेको मृत्युको शिलशिला दैनिक बढ्दो छ। तेस्रो लहरमा भएको मृत्यु पश्चात चार महिनापछि साउन १ गते पहिलो संक्रमितको मृत्यु भएको थियो। मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको थियो। नेपालमा हालसम्म ११ हजार ९८२ जना जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्।
६० देखि ६९ वर्षका २ हजार ५११, ७०–७९ वर्षका २ हजार ३९३, ५०–५९ का २ हजार ३०५, ४०–४९ का १ हजार ६६६, ८० वर्ष माथिका १ हजार ६४०, ३०–३९ वर्षका ९६५, २०–२९ वर्षका ३८१, १०–१९ वर्षका ५७, ९ वर्ष मुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या ७० दशमलव ७ प्रतिशत अर्थात् २ करोड ६४ लाख ६ हजार ३७९ पुगेको छ। बाँकी ३० प्रतिशतले अझै पनि कोरोना पूर्ण खोप लगाउन बाँकी छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोभिड १९ विरुद्ध खोपको पहिलो डोज लगाएपछि गम्भीर रोग र मृत्युबाट ६५ प्रतिशतभन्दा बढी र बुस्टर डोजपछि ८५ प्रतिशतभन्दा बढी सुरक्षा दिन्छ। तर ६ महिनापछि भने खोपको प्रभावकारी घट्दै डब्लुएचओ ले जनाएको छ।