वीरगंज । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण बिग्रिन थालेको चेम्बर अफ कमर्सले आरोप लगाएको छ । निश्चित आम्दानीको स्रोत देखाएर ८ देखि १० प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १५ प्रतिशतसम्म पुगेकाे चेम्बरले जनाएको छ । यसले व्यवसायी हतोत्सायी भएको चेम्बरको भनाइ छ। एक विज्ञप्ति जारी गर्दै उसले भनेको छ ‘आधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरुमा परेको छ, केन्द्रीय बैंकको अधिकांश नीतिहरु बैंक तथा वित्तीय संस्थालाई मात्रै पोस्ने खालको छ ।’ साथै ब्याजदर सम्बन्धमा पुनरावलोकन गर्न चेम्बरले आग्रह गरेको छ ।
राष्ट्र बैंकबाट जारी भएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदाबाट चालु पुँजीलाई कडाइ गर्ने संकेत देखिएको र यसले ब्यापार सहजीकरण तथा लगानीमैत्री वतावरणमा गम्भीर असर पर्ने चेम्बरले जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘एक करोड रुपैयाँसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने बिक्री तथा दशैंतिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सीमा कायम गरिनु पर्दछ ।’
नगद प्रवाहलाई संकुचन एवम् कर्जा प्रवाहको लक्ष्यलाई सीमित गरेर ब्याजदर बढाउँदा बजेटले लिएको ८ प्रतिशतको लक्ष्य र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित गर्न कठिन हुने चेम्बरले जनाएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि मौद्रिक नीतिका कारण संकुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने चेम्बरको ठहर छ । कोरोना महामारीमा दिएको सुविधा कटौती गरी अत्यावश्यक क्षेत्रलाई मात्र पुनर्कर्जा दिने व्यवस्थामा नीतिगत लचकतासहित सुरक्षित अवतरण गर्नुपर्ने चेम्बरको भनाइ छ । कान्तिपुरबाट साभाल गरिएको