वीरगंज । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना संक्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको संक्रमणबाट बिरामी भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
हेटौँडा उपमहानगरपालिका–४ र ५ मा डेङ्गु रोगको बिरामी देखिएको बताइएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी डेङ्गु रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको संक्रमण देखा परेको छ । सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए ।
कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस संक्रमण भएको बताइएको छ । मकवानपुरमा गत आर्थिक वर्षमा भने २९५ जना डेङ्गुको संक्रमणबाट बिरामी भएका थिए ।