वीरगंज । आर्थिक वर्ष २०७८/७९ मा ८१ हजारभन्दा बढी बिरामीले वीर अस्पतालमा निःशुल्क सेवा लिएका छन्।१३३ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्र कुमार बस्नेतले गत वर्ष ८१ हजार २०५ जना बिरामीले निःशुल्क सेवा लिएको बताए। अस्पतालमा एक वर्षको अवधिमा ओपिडी तर्फ ३ लाख ७९ हजार ९८७, इमरजेन्सीमा ३७ हजार ४९८ जनाले सेवा लिएका छन्। गत वर्ष ३ हजार ३३३ मेजर सहित ९ हजार १३३ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। प्याथोलोजी ल्याब तर्फ २ लाख ६४ हजार १६६ र रेडियोलोजीमा ४५ हजार ४५१ जनाले सेवा लिएका छन्।
वीर अस्पतालमा हालसम्म ८६ हजार २७९ जनाले कोभिडको पीसीआर परीक्षण गराएका छन्। जसमध्ये १४ हजार ४५८ जनाको पोजेटिभ आउँदा ५८६ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार ५७२ जनाको उपचार गरेको छ। १५ शय्याबाट सुरु भई ४६० शय्यामा सेवा दिइरहेको वीर अस्पतालले नयाँ सर्जिकल भवनबाट थप सेवा सुरु गरेसँगै शय्या क्षमता ९६० पुगेको छ। वीर अस्पतालमा सरकार तर्फ ६८७, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तर्फ ५४६ जना गरी १ हजार २३३ जना कर्मचारीहरुको दरबन्दी भएपनि सरकारी तर्फ ४८२, प्रतिष्ठानबाट ५४०, सरसफाई कर्मचारी १८०, सुरक्षा गार्ड ४०, काजमा ६६, कोभिड १९ को नियन्त्रणका लागि २७५ र छात्रवृत्ति करारमा २२ जना गरी कुल १ हजार ६०५ जना कर्मचारीहरु कार्यरत छन्।
सर्जिकल भवनको स्वीकृत ८३१ दरबन्दीमध्ये केही मात्र पुरा भएको डा बस्नेतले जानकारी दिए। बिरामीको बढ्दो चाप तथा विस्तारित सेवा अनुसार थप दक्ष जनशक्तिको आवश्यकता भएको उनले बताए। वार्षिकोत्सवको अवसरमा कोभिड १९ महामारीमा उत्कृष्ट काम गरेको भन्दै पाँच जना कर्मचारीलाई अवार्ड प्रदान गरिएको छ। डा उमेश बोगटी, नवराज धिताल, पवित्र नारायण यादव, कविता खड्का र नविन रेग्मीलाई उक्त अवार्ड प्रदान गरिएको हो। यस्तै चार जना कर्मचारीलाई मृगेन्द्र सम्झना चिकित्सा गुठी अवार्ड प्रदान गरिएको छ।