वीरगंज । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि फेरि दैनिक जसो कोरोनाका संक्रमित फेला पर्न थालेका छन् ।भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाकाको हेल्थ डेस्कमा भइरहेकाो परिक्षणमा १ महिना यता फेरि दिनहु जसो कोरोनाका संक्रमित भेटिन थालेका हुन् । कोरोनाको पहिलो लहर देखि देखि नै वीरगन्ज नाकामा हेल्थ डेस्क सन्चालन गरि भारतबाट नेपाल प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण हुदैै आएको छ ।हेल्थ डेस्ककी इन्चार्ज डाक्टर अनिषा महत्तोका अनुसार , भारतमा फेरि संक्रमण बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि संक्रमित भेटिन थालेका हुन् ।
कोरोनाको तेश्रो लहर शुन्य अवस्थामा पुगेपछि फागुन यता जेठ अन्तिम साता सम्म हेल्थ डेस्कको परिक्षणमा संक्रमण पुष्टि हुनेको संख्या शुन्य थियो । तर त्यसपछि पहिलो पटक जेठ २३ गतेको परिक्षणमा पहिलो संक्रमित फेला परेको महत्तोले बताइन् । उनका अनुसार जेठ अन्तिम साता ३ जनामा संक्रमण पुष्टि भएको थियो । गत असारमा भने नाकाको हेल्थ डेस्क परिक्षणमा ३८ जना र साउनमा बुधबार बिहान सम्म १९ जनामा संक्रमण पुष्टि भएको डाक्टर महत्तोले जानकारी दिइन् । जेठ अन्तिम साता (जेठ २३ गते देखि ) यता बुधबार बिहान (साउन ११ ) सम्म ६० जनामा संक्रमण पुष्टि भएको उनले बताइन् ।डाक्टर महत्तोले भनिन् ,‘ भारतमा संक्रमण बढेसंगै यता पनि संक्रमण फेरि बढ्न थालेको छ , असार र साउनमा दैनिक जसो २÷३ जना संक्रमित फेला परिरहेका छन् ।नाकाको हेल्थडेस्कमा बुधबार बिहानै मात्रै ६९ जनाको एन्टिजेनन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् ।जेठ २३ यता संक्रमण पुष्टि भएका ६० मध्ये दुइ तीन जना बाहेक अरु सबै भारतीय नागरिक नै रहेको पनि उनले बताइन् ।संक्रमण पुष्टि भएका भारतीयहरु भरतको कुनै एक विशेष राज्यका नभइ भारतका विभिन्न राज्यका नागरिकहरु रहेको उनले बताइन् ।
डाक्टर महत्तोको अनुसार , नाकाको हेल्थ डेस्कमा भारतबाट लामो दूरीको रेल , बस र चारपाङग्रे सवारी साधनबाट यात्रा गरेर नेपाल आउनेहरुको एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।संक्रमण पुष्टि भएका भारतीयलाइ नाकाबाटै भारत तर्फ फर्काउने गरिएको छ भने नेपाली संक्रमितहरुलाइ भने सम्बन्धित पालिकासंग समन्वय गरि घर पुरयाउने गरिएको छ । नाकामा फेरि दैनिक जसो संक्रमति भेटिन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले फेरि निगरानी बढाइएको डाक्टर महत्तोले बताइन् । यता वीरगन्जको नारायणी अस्पतालमा पनि साउन पहिलो हप्ता देखि कोरोनाका संक्रमित फेला पर्न थालेका छन् । तेश्रो लहर पछि साउन ३ गते पहिलो पटक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
साउन ३ मा ३४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसपछि साउन १० मा ३९ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा संक्रमण भेटिएको डाक्टर सिंहले बताए ।संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रुघा खोकी बाहेक सामान्य रहेकाले होम आइशोलेनमा बस्ने गरि पठाइएको डाक्टर सिंहले जानकारी दिए । डाक्टर सिंहले भने ,‘ यो तथ्याङकले के संकेत गर्दैछ भने अब फेरि वीरगन्जमा पनि संक्रमण देखिदैछ , तर आत्ति हाल्नु पर्ने अवस्था भने छैन , सजग र सतर्क भने हुनु नै पर्छ । यसअघिका महामारीका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका उपाय भने फेरि हरेक नागरिकले अपनाउनु पर्ने सुझाव उनले दिए । अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुन थालेपछि त्यसलाइ मध्यनजर गरि नारायणी अस्पतालमा १७ शैयाको कोभिड उपचार कक्ष तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिए ।