वीरगंज । पर्सामा धानको रोपाइँ करिब ७० प्रतिशत भएको छ । एक सातायता वर्षा भएपछि किसानले बाली रोप्न भ्याएका हुन् । त्यसअघि जिल्लामा करिब ४० प्रतिशत मात्र रोपाइँ भएको थियो ।
कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश चौरसियाले वर्षाका कारण किसानले धमाधम रोपाइँ गरेको बताए । ‘अधिकांश किसानको बेर्ना तयार थियो, तर रोपाइँका लागि चाहिने पर्याप्त पानी खेतमा नजमेकाले रोपाइँ गर्न पाएका थिएनन्,’ उनले भने, ‘तर सातायता वर्षा भएकाले किसानले रोपाइँ गर्न भ्याएका हुन् ।’
उनले एक सातामै जिल्लामा धेरै रोपाइँ भएर हाल समग्र धान खेती योग्य जग्गामध्ये ७० प्रतिशतमा रोपाइँ भएको बताए । हालकै गतिमा पानी पर्ने र त्यसैअनुरूप रोपाइँ हुने हो भने आउँदो २ साताभित्र जिल्लाका किसानले रोपाइँ सम्पन्न गरिसक्ने चौरसिया बताउँछन् । जिल्लामा यस वर्ष ४७ हजार १ सय ३० हेक्टरमा धानबाली लाग्ने अनुमान गरिएको उनले बताए । जिल्लामा सबैभन्दा बढी सोना मन्सुली र सुवर्णसब जातको धानको खेती हुन्छ । त्यसपछि बासमती, साबित्रीलगायत जातको धानको खेती गरिन्छ ।