वीरगंज | गुरही अर्थात गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन ।
तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई बाल पर्व का रूपमा मान्दै पहिलो पर्व भएको हुनसक्छ । भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा यस पर्वमा थारु महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भनेँ पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन र खेल्छन् ।
यसरी बालापनमा खेलिने भाँडाकुँडीको झल्को दिने यस पर्वले गुडियासंगै आफ्ना पीडा, रोग व्याध र कष्टहरू जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछ ।