वीरगंज । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २१४ जनाको पीसीआर र ४६ जनाको एन्टीजेन पुष्टि भएको हो ।
यसअघि बुधबार नेपालमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार हालसम्म ९ लाख ६७ हजार ८ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा १ हजार १ सय ७१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । यद्यपी पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाको कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपनि सरकारले त्यसबारे कुनै चासो देखाएको छैन । यसअघिका लहरहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि मात्रै सरकार त्यसको तयारीमा लागेको भन्दै अहिलेको अवस्थामा सुरुवातबाटै कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्न विज्ञहरुले सरकारलाई सुझाव दिइरहेका छन् ।