वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले संसदमा पेस गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका हुन् । उनले जन्म सिद्धका छोराछोरी अनागरिक भएर बाँच्नु परेको भन्दै सर्वसम्मत रूपमा विधेयक पारित गर्नुपर्ने जिकिर गरे ।
उनले भने, ‘पुरानो नागरिकता विधेयक विवादित थियो । नयाँ नागरिकता विधेयक पेस गर्ने सहमती भएको छ । जुन नागरिकता विधेयक पेस हुन्छ, नयाँमा । त्यो फाष्ट ट्रयाकमा पास हुन्छ । जन्म सिद्धको कुरा, बुबा आमा नेपाली छ तिनको सन्तानले नागरिकता नपाउने ? त्यो अनागरिक भयो ? नेपाली नागरिक हुँदाहुँदै अनागरिक भएर बाँचिरहेको छ । हामी सबै मिलेर सर्वसम्मत पास गराउनु पर्छ ।’