वीरगंज । वीरगंजमा मंगलबार बलात्कार विरुद्धको सचेतना कार्यक्रम , अन्तक्रिया तथा वृतचित्र प्रदर्शनी गरीएको छ । सम्यक संचार प्रालिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले बलात्कार लगायत जस्ता महिला विरुद्ध हुने गम्भिर प्रकृतीका जघन्य अपराधमा समेत सरोकारवाला निकाय गम्भिर नभएको गुनासो गरेका थिए ।
कोही व्यक्तिलाई त्यस्ता जघन्य अपराधको झुटा आरोपमा जेल सजाय भोग्नुपर्ने अवस्था छ भने कतै महिलामाथि भएका वास्तविक अपराध लुकाउने र समाजमै मिलाउने तथा सुल्झाउने प्रयास समेत गर्ने प्रवृतीले समाज झन् नकारात्मक बाटोतर्फ उन्मुख भएको सहभागिहरुको भनाई थियो । कार्यक्रममा सहभागि मध्ये कतिपयले भने सरकारले त्यस्ता पिडीत महिलाका लागि सुरक्षित आवास , निशुल्क परामर्श तथा निशुल्क रुपमा वकालत गरीदिने सरकारी वकिलको व्यवस्था गरेको सरकारको दाबी रहेपनि वृतचित्रमा भने पिडितले न्याय पाउन एक करोड रुपैया भन्दा बढी खर्चिनुपरेको गुनासो गरेका थिए ।
सहभागिहरुले सोधेका विभिन्न प्रश्न तथा जिज्ञासाहरुमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल,जिल्ला न्याधिवक्ता पदमराज कार्की , जिल्ला अदालतका उप रेजिस्टार केशव पौडेल , पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत , मनोचिकित्सक भरत गोईत , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,ओसीएमसीका संयोजक हेमा थापा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका घनश्याम खड्काले गरेका थिए भने सहजिकरण संस्थाकी रसना ढकाल पत्रकार सुस्मा शर्मा , निलिशा वर्माले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतीनिधीहरु , पालिकाका जनप्रतीनिधीहरु , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।