वीरगंज । ललितपुर महानगरले हैजा नियन्त्रण गर्ने भन्दै ठेलागाडा र रिक्सामा पानीपुरी तथा चटपटे व्यापार गर्न रोक लगाएको छ । रामेछाप लिखु गाउँपालिकाकी ३६ वर्षीया टीकामाया श्रेष्ठले ठेला बन्द गरेको ५ दिन बित्यो । महानगरले ठेला राख्न नदिएकै कारण बालकुमारी बसपार्कमै चटपटे र पानीपुरी बेचेर गुजारा चलाइरहेकी गीता साह दम्पतीको पनि व्यापार ठप्प बनेको छ ।
‘हैजा पानीपुरीबाट भन्दा पनि जारको पानीबाट सरेको हुनुपर्छ । जारको पानी र हाम्रो खानेकुरा परीक्षण गर्नुस् । दूषित पाइएमा कारबाही भोग्न तयार छु,’ गीताले भनिन् । उनले रोग नियन्त्रण गर्न खानेपानी स्रोत मुहान, ढुंगेधारा, दुर्गन्धित बनेका पोखरी, ढल निकास व्यवस्थापनतर्फ भन्दा पनि महानगरको ध्यान दैनिक गुजारा गर्नेहरूको उठीबास लगाउनतर्फ गएको आरोप लगाइन् ।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जन भन्छन्, ‘सरकारले हैजा नियन्त्रणसम्बन्धी पत्राचार भएअनुसार खानेपानीको स्रोत, खानेकुरालगायत सरसफाइ गर्ने क्रममा पहिला ठेलागाडा व्यवसायमा कडाइ गरिएको हो ।
महानगरमा ठेलागाडा निषेध हैजा रोग नियन्त्रण गर्न मात्र गरिएको होइन । यसअघि नै नगर परिषद्बाटै राख्न नदिने भनेर निर्णय भइसकेको थियो ।’ उनले ठेलागाडा र रिक्सा व्यवसायी क्रमशः पसल व्यवसायीतर्फ उन्मुख हुनुपर्ने बताए । ‘बरु उनीहरूलाई विभिन्न तालिम दिन्छौं । लगानी गर्ने वातावरण पनि बनाइदिन्छौं,’ उनले भने, ‘यसले महानगरलाई आम्दानी पनि हुन्छ ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले लक्षित समूहलाई भन्दा पनि स्थानीय तहबीच समन्वय गरेर खानेपानीका स्रोतलगायतको अनुगमन र सरसफाइमा ध्यान दिनुपर्ने बताए । ‘ढल वा दिसा मिसिएको पानी र खानेकुरामा हैजाको ब्याक्टेरिया हुन सक्छ,’ उनले भने ।