आयोडिन र नुनको विषयमा हामीले धेरै कुरा सुन्दै आएका छौं । नुन र आयोडिन शरीरका लागि आवश्यक तत्व हो । तर यसको मात्राको विषयमा विभिन्न प्रश्न पनि उठिरहेका छन् ।
आयोडिन मानिसको लागि दैनिक रूपमा नभई नहुने तत्वमध्ये पर्छ । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुद्र नभएकाले आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ ।नेपालीहरूको भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा बढी छ भन्ने कुरा केही समय अघि सुन्नमा आएको थियो । योसँगै नुन र आयोडिनको विषयमा भ्रमपूर्ण कुरा समेत सम्प्रेषण भइरहेकाले यसले सर्वसाधारणमा आशंका पैदा गरिरहेको देखिन्छ ।नुनमा आयोडिनको मात्रा कति ?उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको छ । नेपालमा हाल आयोडिनयुक्त नुनको मापदण्डमा उत्पादन स्थलमा ५० पीपीएम नघटाई र बिक्री स्थलमा ३० पीपीएम नघटाई हुनुपर्ने व्यवस्था रहेको छ । साथै उपभोग बिन्दुमा नुनमा आयोडिनको मात्रा कम्तीमा १५ पीपीएम हुनुपर्ने भनिएको छ ।
सबै स्थानमा यातायातको सुविधा नपुगेको, भण्डारणको अभ्यास र स्थल उपयुक्त नभएको देखिएकाले उपभोक्तासम्म पुग्दा नुनमा मिसाएको आयोडिन नाश भएर जान सक्छ भन्ने आधारमा उत्पादन स्थलमा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान छ ।
तर अहिले यातायातको सुविधा विस्तार भई ढुवानी सहज भएको, भण्डारणको अभ्यासमा सुधार भएको कारणले नुनमा मिसाइएको आयोडिन धेरै नाश नहुन सक्छ । अर्कोतिर कानुनमा न्यूनतम ५० पीपीएम मिसाउनुपर्ने भनिएको, तर अधिकतम कति मिसाउन पाउने भन्ने किटान नभएका कारण पनि अधिक आयोडिन मिसाउने गरेको पाइन्छ । नुनमा आयोडिनको मात्रा उत्पादन स्थलमा न्यूनतम र अधिकतम कति हो भन्ने मापदण्ड तत्काल निर्धारण गर्नु जरुरी छ ।
दैनिक कति नुन खानु ठीक ?
नेपालीहरूले दैनिक ९ ग्राम नुन सेवन गरिरहेका छन् । तर हाम्रो शरीरलाई भने दैनिक ५ ग्राम भन्दा कम नुन भए पुग्छ । अहिले हामी झण्डै आवश्यकता भन्दा डबल नुनको प्रयोग गरिरहेका छौं । नुनको बढी प्रयोगले उच्च रक्तचाप जस्ता नसर्ने रोगको जोखिम बढाउँछ । त्यसैले एउटा वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रो ग्राम नुन खानु उपयुक्त हुन्छ ।
नेपालमा खानुपर्ने भन्दा झण्डै दोब्बर नुनप्रति व्यक्ति खपत भइरहेको छ । यस्तोमा आयोडिनको मात्रा भन्दा पनि नुन कम खपत गर्ने बानीको विकास गर्नु जरुरी हुन्छ ।