वीरगंज । नेपालमा पहिलोपटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको छ। विज्ञापन बोर्डले आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन्।
३८ पृष्ठको आचारसंहितालाई विज्ञापन क्षेत्रमा देखिएका विकृति र बिसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ। विज्ञापन गर्दा विज्ञापनदाताले ३० दिनभित्र विज्ञापन एजेन्सीलाई भुक्तानी उपलव्ध गराउने र विज्ञापन एजेनसीले ६० दिनभित्र सञ्चार गृहलाई भुक्तानी दिनुपर्ने, बिल पठाउँदा सञ्चार गृहको बिलसमेत उपलब्ध गराउनुपर्ने, विज्ञापनदाताले भनेकै सञ्चार माध्यममा एजेन्सीले विज्ञापन राख्नुपर्ने छ।
कार्यक्रममा मन्त्री कार्कीले आचारसहिंतालाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनुपर्ने बताउए। उनले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताए।
बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका संघ-संस्थालगायत सरोकार राख्नेसँग पटक-पटक छलफल गरिएको बताए।