वीरगंज । ग्लोबल आइएमई बैंकसँग सम्झौता भएपछि मधेस प्रदेशमा छोरी शिक्षा बीमा पुनः सुरु भएको छ।
लामो समयदेखि अवरुद्ध रहेको छोरी शिक्षा बीमा असार १९ गतेदेखि पुनः सुरु भएको शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयालले जानकारी दिए।बीमाअन्तर्गत सुरुमा प्रभु बैंकसँग सम्झौता रहे पनि सम्झौता अवधि समाप्त भएपछि रोकिएको बीमा कार्यक्रम ग्लोबल आइएमई बैंकसँग सम्झौता भएपछि फेरि सुरु भएको हो।
सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकको तर्फबाट बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
२०७८ माघ १ गतेपछि जन्मिएकी छोरीहरुको लागि सुरू गरिएको बीमा २० वर्षपछि ३ लाख दिने गरी प्रतिबीमा ३७ हजार ४ सय ५७ रुपैयाँ ६० पैसा मधेस सरकारले बैंकलाई दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।