बिरगंज । लालसरी झाँगडलाई अझै हो कि होइन भन्ने लागेको छ– २३ वर्षे छोरा प्रमोद पाइलट बनिसक्दा समेत । अल्पसंख्यक झाँगड (उराव) समुदाय गरिबी र अशिक्षाका कारण विगतमा जाँडरक्सी खाएर रमाउने र सिकार खेल्न हिँडने समूहका रूपमा चिनिन्थ्यो ।पछिल्लो समय यो समुदायमा परिवर्तन आएको छ । तर पनि यो समुदायका युवाले उच्च शिक्षा पूरा गरेको भेटे अझै अचम्म मान्नेहरू छन् ।
प्रमोद आफ्नो समुदायबाट पहिलो पाइलट बनेका छन् । जीवनमा कहिल्यै विमान नचढेकी लालसरीलाई अब छोराले उडाएको विमान चढ्ने रहर छ ।मोरङको कटहरी–५ भौडाहा बस्तीका प्रमोदले दुई महिनाअघि दक्षिण अफ्रिकाको बर्ड एभिएसन कलेजबाट कमर्सियल पाइलटको लाइसेन्स लिएका हुन् । उक्त कलेजबाट १८ महिनाको प्रशिक्षण पूरा गरेका उनी हाल नेपालको लाइसेन्स कन्भर्सन परीक्षाको तयारीमा छन् । उनले भने, ‘यो परीक्षा पास भएपछि यहाँको एयरलायन्समा आबद्ध हुने बाटो खुला हुन्छ ।’
आमाको रहर पूरा गर्न प्रमोदलाई पनि इच्छा छ । आफूले उडाउने जहाजको पहिलो उडानमा उनी बाआमालाई चढाउन चाहन्छन् । लालसरीले पुलकित हुँदै सुनाइन ‘मलाई पनि छोराले पहिलो पटक उडाएको हवाईजहाजमा बस्ने इच्छा छ ।’ बाबु विष्णु कृषक हुन् । उनले एक बिघा बेचेर छोरालाई पाइलट पढाएका हुन् । विराटनगर हाटखोलाको वाल्मीकि बोर्डिङ स्कुलबाट एसईई र ग्रीनल्यान्ड कलेजबाट विज्ञानमा १२ कक्षा सकेपछि प्रमोद पाइलट पढ्न गएका थिए ।‘छोराले पाइलट बन्ने चाहना राख्यो,’ विष्णुले भने, ‘खेत बेचेर उसको इच्छा पूरा गरिदिएँ ।’ उनका अनुसार प्रमोदलाई पाइलट बनाउँदा करिब ५५ लाख रुपैयाँ खर्च भयो ।पछिल्लो समय यो समुदाय आदिवासी जनजाति महासंघमा आबद्ध छ । यो समुदायबाट सुनसरीका शिवनारायण उराव संविधानसभा सदस्य पनि भए । नुनुलालका अनुसार सुनसरीको तत्कालीन नर्सिङ गाविसका सुरेन्द्र उराव प्राध्यापक डाक्टर छन् । त्यसैगरी सुनसरीकै नवीन उराव, सञ्जु उराव एमबीबीएस डाक्टर हुन् भने प्रवीन उराव सिभिल इन्जिनियर छन् । उनका अनुसार झाँगड समुदायका दर्जनबढी महिला स्टाफ र बीएससी नर्स छन् ।