वीरगंज । लगातार वर्षाका कारण डुबानको समस्याले विराटनगर महानगरपालिकाभित्रका विद्यालयको पठनपाठन आजदेखि बन्द गरिएको छ ।
महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीनदिन शुक्रबारसम्म बन्द गरिएको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगर महानगर क्षेत्रका धेरै सामुदायिक विद्यालय वर्षाको पानीका कारण डुबानमा परेका छन् ।
प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको बैठकले बर्खे विदामा कटौती गर्नेगरी तीनदिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले नागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागतविद्यालयहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । महानगरको विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार बैठकले वडास्तरमा वडाध्यक्षहरूसँग समन्वय गरी डुबान खोल्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।