वीरगंज । राजस्व छली गरी मोबाइल बिक्रीमा राखेकाे भन्दै प्रहरीले शनिबार एक युवालाई पक्राउ गरेकाे छ । पक्राउ हुनेमा धादिङ जिल्ला ज्वालामुखी गाउँपालिकामा घर भई हाल न्युरोड बस्दै आएका प्रदिप दुवाडी छन् ।
राजस्व छली गरी विभिन्न कम्पनीका मोबाइल बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं प्रहरी वृत्त जनसेवा र नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले दुवाडीलाई पक्राउ गरेको हो । न्युरोडस्थित पशुपति प्लाजाको दोस्रो तलामा उनले सञ्चालन गरेको मोबोटेक प्राइभेट लिमिटेड सामसङ मोबाइल पसलबाट उनलाई पक्राउ गरिएको हाे ।
सूचनाका आधारमा खानतलासी गर्दा उनको पसलबाट राजश्व छली गरी राखिएका विभिन्न मोडेलका ६४ थान स्मार्टफाेन बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । यसअन्तर्गत आईफोन दुईवटा, सामसङका स्मार्टफाेन सातवटा, रियलमीका स्मार्टफाेन नाैवटा, ओप्पोका स्मार्टफाेन छवटा , रेड्मीका २५ वटा, भिभोका नाै वटा, वनप्लसका १९ वटा र नोकियाकाे एक थान गरी कूल ६४ थान स्मार्टफाेन बरामद गरिएकाे छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।