वीरगंज । नेपाल सरकारले गाँजालाई वैधानिकता दिनुपर्ने माग राख्दै धनगढीमा हस्ताक्षर अभियान सुरु भएको छ । नेपाल गाँजा वैधानिकता महाअभियान सुदूरपश्चिम प्रदेश समितिले विभिन्न क्षेत्रमा गएर हस्ताक्षर संकलन गर्न लागेको संयोजक किरण थापाले जानकारी दिए ।
‘समाजमा गाँजालाई नशालु पदार्थ भन्दै अवैधको सूचीमा राखेको छ’ संयोजक थापाले भने–‘गाँजालाई देशको आयआर्जनको माध्यमबाट लिनुपर्ने हुन्छ ।’ गाँजाबाट विभिन्न औषधि बन्नुका साथै ब्याग, जुत्ता, टोपीका राम्रो लुगाकपडा पनि उत्पादन हुन्छ, त्यसैले, यसलाई ब्रान्डिङ गरेर सरकारले मान्यता दिन दबाब सिर्जना गर्न हस्ताक्षर अभियान गरेको आयोजकले बताएको छ ।
१० लाख हस्ताक्षर संकलन गरी सहकारलाई बुझाउने अभियानकर्ताहरूको लक्ष्य रहेको छ । अभियानकर्ताहरूले धनगढीका विभिन्न स्थानमा सभा गर्दै गाँजाको उपयोगिताका बारेमा दबाबमूलक कार्यक्रम पनि सुरु गरेका छन् ।