वीरगंज । कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि बेपत्ता छन् । २२ जेठ बेलुका कोठाबाट निस्किएका उनी अझै फेला परेका छैनन् । उनी छवि आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुन् ।
केही समयअगाडि कालिकोटदेखि भाइबहिनीसँगै स्कुल पढाउन वीरेन्द्रनगर–४, मूलपानीमा कोठा खोजी राखेर आफूहरू कामको खोजीमा भारत गएको विनोदकी आमा अमसरा विकले बताइन् ।
‘हामीले प्रहरी कार्यालयमा खबर गरे पनि अझै पत्ता लाग्न सकेको छैन,’ उनले भनिन्, ‘हामीले धेरै ठाउँमा खोज्यौैँ ।’ नेपालमा छोरा हराएको खबर पाएपछि आफू भारतबाट नेपाल आएको अमसराले बताइन् । ‘छोराछोरीलाई पढ्न भनेर सुर्खेतमा राखेको, उनी किन र कसरी हराए भन्ने हामीलाई जानकारी नै छैन,’ उनले भनिन्, ‘उनी निकै सोझा थिए ।’