प्रतिकिलो १० लाख रुपैंयाँसम्म विक्री हुने केशरको व्यवसायिक खेती सुरु
वीरगंज संजाल
१८ कार्तिक २०७६, सोमबार १५:४१
६२३५
इलाम | औषधीय गुण भएको बहुमूल्य केशरको खेती इलाममा सुरु भएको छ । दश लाख रुपैयाँसम्म प्रतिकिलो पर्ने केशरको परीक्षण सफल भएसँगै त्यसको खेती सुरु गरिएको हो ।
इलामको माइजोगमाइ गाउँपालिकाअन्तर्गतको थुम्केडाँडा र जौवारी क्षेत्रमा बहुमूल्य जडिबुटीका रुपमा रहेको केशरको व्यावसायिक उत्पादन सुरु भएको छ ।
जौवारी मल्टी परपोज एग्रिकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक केशरखेती सुरु गरिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राई बताउँछन् ।
भारतको कास्मीरबाट दुई मन बीउ ल्याएर थुम्के र जौबारीमा खेती गरिएको हो थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने तथा एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटर उचाइको क्षेत्रमा यसको खेती अनुकूल मानिन्छ । इलामको यस क्षेत्रमा परीक्षण गर्दा गुणस्तरीय केशर उत्पादन भएको केशर खेती प्रवद्र्धक हरि कटुवालको भनाइ छ ।
केशर उत्पादनका लागि धेरै फूलको पर्ने भएकाले फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाट मात्र एककिलो केशर प्राप्त हुने संस्था सदस्य टुण्डु शेर्पाले जानकारी दिए ।
अंग्रेजीमा ‘स्याफरोन’ भनेर चिनिने केशर खेती युरोपबाट सुरु भएपनि नेपालका केही भुभागमा यसको व्यवसायिक खेती सुरु भएको छ ।
यसलाई नशा बलियो बनाउन तथा मुटु कलेजोलगायतको उपचारमा प्रयोग गरिन्छ । औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ ।