वीरगंज । बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पर्साको बीरगन्जबाट १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१ घर भएका ३५ वर्षीय उमाशंकर गिरी छन् । २०६९ जेठ २ मा राति मानसिक सन्तुलन ठिक नभएकी २६ वर्षीया महिलालाई उमाशंकरले बलात्कार गरेका थिए । पर्सा जिल्ला अदालतको २०७० जेठ १७ मा उनलाई ५ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो ।
बलात्कार गरेर भागेका गिरीलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका–१ छप्कैयाबाट पक्राउ गरेको जिप्रका पर्साका डीएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए । उमाशंकरलाई पुनरावेदन अदालतले सफाई दिएको थियो । सर्वोच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी फरार भएका हुन् ।
असार ५ मा वडा प्रहरी कार्यालय बिर्ताका इन्स्पेक्टर विशाल मल्ल नेतृत्वको टोलीले पक्राउ गरेर उनलाई अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालत पर्साको आदेशले उनलाई कारागार चलान गरिएको छ ।