काठमाडौं । पूर्ववर्ती सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखहरूको पदावधि नसकिँदै वर्तमान सरकारले सबैजनालाई हटाएको छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो ।
पाँच वर्ष पदावधि रहेकोमा नियुक्त भएको दुई वर्ष नपुग्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।
यसअघि प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रमुख थिए ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्डअनुसार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।
संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरूले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा पदमुक्त हुने व्यवस्था छ । सोही धाराको उपधारा १ को (ख) मा प्रदेश प्रमुखको पदावधि सकिनुअघि राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।