बिरगंज । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने फाइजर खोप (बायोएन्टेकको पेडियाट्रिक) नेपाल आइपुगेको छ। अमेरिकी सहयोगमा आइतबार बिहान २२ लाख ३ हजार २ सय मात्रा फाइजर खोप नेपाल आइपुगेको हो।त्यसका लागि चाहिने २ लाख २० हजार ८ सय भायल घोलक दुई दिन अगाडि आइपुगेको खोप आपुर्ति शाखाका सुरेन्द्र चौरासियाले जानकारी दिए।
नेपालले कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्सले बालबालिकाका लागि निःशुल्क फाइजर खोप दिएको हो।
सरकारले पहिलो चरणमा २७ जिल्लामा अभियान संचालन गर्ने भएको छ। कोभ्याक्स सुबिधा मार्फत ८४ लाख मात्रा खोप आउने भएको हो। यस अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।
पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई असार ९ देखि १५ गते सम्म दिइने भएको छ। त्यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा २ साउन देखि ८ सम्म लगाउने कार्यतालिका बनाइएको छ।
अधिकारीहरुका अनुसार बाँकी रहेका ५० जिल्लामा पहिलो चरण भाद्र ५ देखि ११ सम्म संचालन हुने छ। त्यस्तै दोस्रो चरण भाद्र २७ देखि असोज १ गते सम्म संचालन हुने बताईएको छ। सरकारले ‘पेडियाट्रिक’ फाइजर खोप संचालन गर्न आवश्यक पर्ने सबै तयारी पुरा गरेको छ। स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइसकेको छ।
५ देखि ११ वर्षका बालबालिकाका लागि शून्य दशमलब २ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ। १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा शून्य दशमलब ३ एमएलका दरले दुई डोज लगाइएको थियो। पहिलो चरणमा झापा, मोरङ्, सुनसरी,सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ्, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम संचालन हुनेछ।