वीरगंज । आभाष खानको चार विकेट तथा दिनेश कार्तिकको अर्धशतकप्रेरित भारतले शुक्रबार राति चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले पराजित गरेको छ । राजकोटस्थित सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याईको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा ८७ रन बनाउँदा सबै विकेट गुमायो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका सबैभन्दा कम योगफलमा समेटिएको छ । यसअघि दक्षिण अफ्रिका अष्ट्रेलियाविरुद्ध २०२० फेब्रुअरी २१ मा ८९ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकालाई सबैभन्दा कम रनमा अलआउट गर्नेक्रममा भारतका आभाष खानले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । युजभेन्द्र चाहलले दुई विकेट लिए भने हर्षल पटेल र अक्सर पटेलले एक एक विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि कार्तिकले सबैभन्दा धेरै ५५ रन बनाए । उनले २७ बलमा ९ चौका र २ छक्का प्रहार गरे । हार्दिक पाण्डेयले ४६ रन बनाउँदा इशान किशनले २७ र रिशभ पन्तले १७ रन जोडे । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए भने मार्को जेनसन, ड्वाइन प्रेटोरियस, एनरिच नोट्जे र केशव महाराजले एक एक विकेट लिए । यसअघि पाँच खेलको शृंखलामा २–२ को बराबरी भएको छ । पहिलो दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।